श्री पशुपतिनाथ

भगवान् श्रीपशुपतिनाथको मन्दिर र पावन पशुपति क्षेत्र प्राचीनकालदेखि नै विश्वभरका सनातन हिन्दूजनको श्रद्धा र आस्थाको केन्द्रबिन्दु एवं पवित्र तीर्थस्थलका रुपमा रहिआएको छ । देवपाटन, जयवागेश्वरी, गौरीघाट, चावहिल, कुटम्बहाल, सिफल, गौशाला, पि·नस्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रलाई ओगटेर २६४ हेक्टरको क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रमा ४९२ साना-ठूला विभिन्न शैलीका मठ  मन्दिर, सत्तल, ढुंगेधारा, चैत्य, देवालय आदि धार्मिक तथा ऐतिहासिक स्थल र लगभग एक हजार शिवलि‌गं रहेका छन् ।
लिच्छवीकालदेखि नै पशुपति क्षेत्रका रुपमा प्रसिद्ध भएको यस क्षेत्रमा इसापूर्व तेस्रो शताब्दीसम्मका विभिन्न मुर्तिहरु पाइएका छन्, साथै शक संबत् ३८१ (ई ४५९) को तिथिमितिसहितको हालसम्मको पहिलो लिच्छवि-अभिलेख पनि यही भेटिएको छ । यसरी यो क्षेत्र काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएको छ र अतिप्राचीन पूजास्थल, मठ  मन्दिर र मूर्तिहरु तथा प्राचीन अभिलेखहरुको अवस्थितिले गर्दा यो क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ ।
नेपालको राष्ट्रिय संस्कृतिको मूल आधार भएको धार्मिक समन्वयको विकासमा यस क्षेत्रको योगदान सर्वोपरि छ । यहाँ प्राचीनकालदेखि नै विभिन्न मतको समन्वय भएको पाइन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि यो क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ र ती-ती सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा यस क्षेत्रमा रहेका छन् । भगवान श्रीपशुपतिनाथको नित्यपूजाका क्रममा शालिग्रामको पूजाका साथै श्रीयन्त्रमा तान्त्रिक विधिले शक्तिपूजा समेत गरिने हुनाले र भगवान श्रीपशुपतिनाथलाई प्रतिवर्ष बुद्धमुकुट पहिर्‍याउने भएकाले पनि भगवान् श्रीपशुपतिनाथ स्वयं धार्मिक समन्वयको प्रतिक हुनुहुन्छ र हामीलाई सधै पारस्परीक सद्भावनाको प्रेरणा प्रदान गरिरहनु हुन्छ भन्ने स्पष्ट हुन्छ । 

पशुपति क्षेत्रको प्रसिद्धि र पशुपति क्षेत्र विकास कोष

एक समय भारत र वरपरका देशहरु र कम्बोडियाजस्ता टाढाका देशहरुमा पनि पाशुपत मतको व्यापक प्रचार थियो । पशुपति पाशुपतहरुका प्रधान देवता थिए र आफ्ना इष्टदेवको दर्शन गर्न विभिन्न ठाउँबाट श्रद्धालुहरु र ठूलाठूला साधकहरु समेत नेपाल आउने गर्थे । यसरी धेरै अघिदेखि नै पशुपति र पशुपति क्षेत्रको प्रसिद्धि अन्तराष्ट्रिय जगत्सम्म फैलिएको थियो र यो क्षेत्र नेपाल र नेपालीको चिनारीको सशक्त माध्यम बनेको थियो । वर्तमानमा पनि "विश्व सम्पदा सूची" मा समाविष्ट रहेको यस क्षेत्रको महत्ता र प्रसिद्धिले विश्वभरिका सबै श्रद्धालु एवं इतिहास र संस्कृतिका अध्येताहरुलाई आकर्षण प्रदान गरिरहेको छ । अतः यस क्षेत्रको संरक्षण र विकास गरी पारस्परीक सद्भाव र विश्वबन्धुत्वको प्रतिकका रुपमा यस क्षेत्रलाई अझै सशक्त रुपले विश्वभर परिचित गराउनेतर्फ लाग्नु नेपाली मात्रको दायित्व हुन आउँछ ।
आफ्ना अनेकौं विशेषताहरुले सम्पूर्ण हिन्दूजगतलाई स्वधर्मनिष्ठा, पारस्परीक सद्भावना तथा आत्मीयता र विश्ववन्धुत्वको प्रेरणा प्रदान गर्दै दिव्यताको प्रतीकका रुपमा अवस्थित पावन पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप सुव्यवस्थित र विकसित पार्ने उद्देश्यले वि.सं. २०४३ सालमा एक अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा पशुपति क्षेत्र विकास कोष स्थापना भै आफ्नो कर्तव्यपथमा क्रियाशील रहेको छ ।
विश्वको विभिन्न भागमा असीम श्रद्धा बोकी श्रीपशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुलाई स्थान, दर्शन, पूजन र परिक्रमा आदिको सु-अवसर उपलब्ध गराउने दिशामा लागि पर्नुकासाथै पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाको संरक्षण गरी प्राकृतिक सौन्दर्य तथा वातावरणमा समेत सन्तुलन कायम राखेर यस क्षेत्रलाई सुव्यवस्थित, स्वच्छ र सुन्दर पार्न कोष प्रयत्नरत छ ।