पवित्र पाशुपत क्षेत्रका दर्शनीय मन्दिरहरु

वत्सलेश्वरी–आर्यघाट र भस्मेश्वरको बीचमा वाग्मती किनारमा वत्सलेश्वरीको सुन्दर दूईतले मन्दिर छ । यहाँ पनि मूर्ति नभएर यन्त्रमात्र छ र सिद्धिकालीका रुपमा यिनको पूजा हुन्छ । पन्ध्रौं शताब्दीको शुरुदेखि नै वत्सलेश्वरीको उल्लेख पाइन्छ । वत्सलेश्वरीको जात्रा पशुपति क्षेत्रमा मनाइने सबैभन्दा मुख्य जात्रा हो र यो जात्रा प्रत्येक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि चारदिनसम्म धूमधामले मनाइन्छ ।
विश्वरुप– मृगस्थलीको पूर्वछेउमा वनको बीचमा राजपूताना गुम्बज शैलीको भव्य र विशाल विश्वरुपा मन्दिर छ । जङ्गबहादुरको समयमा ई. १८६७ अघि नै बनेको यस मन्दिरमा शिवशक्तिको रतावस्थाको अत्यन्त विशाल ढलौटे मूर्ति प्रतिष्ठित छ । यो मन्दिर चौघराले घेरिएको छ र चौघराभित्र चार कुनामा शिवपार्वती, लक्ष्मीनारायण, सीताराम र राधाकृष्णका ढलौटका युगलमूर्तिहरु थापिएका छन् ।
अनन्तनारायण– वत्सलेश्वरीको मन्दिरसँगै सम्पूर्ण रुपमा टेराकोटाबाट बनेको अनन्तनारायणको उभिएको विशाल मूर्ति छ । मल्लकालको यो मूर्ति पाशुपत क्षेत्रको दर्शनीय मूर्तिहरु मध्ये एक हो ।