September 26, 2020, Saturday
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np
हरितालिका तीज

हरितालिका तीज

हिन्दु नारीहरूले मनाउने महत्वपूर्ण पर्व तीज हो । यो पर्व भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान,  मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमयरूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्। यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतमा नेपालीहरु बसोबास रहेका प्रान्तमा समेत मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवान शिवकी अर्धािङ्गनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् र शिव नै पति पाउँ भनेर पहिलो निराहार ब्रत राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यो पर्वमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरीचेली लाई घरमा गई माईतीमा ल्याउने चलन छ । मीठा मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा बस्ने चलन नेपाली समाजमा छ । यस दिन भन्दा अघिल्लो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ हुन्छ । दरमा ठाउँअनुसार विभिन्न मीठा मीठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन भने आएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती अवेरसम्म बसेर पेटभरी खाने प्रचलन रहेको हो ।