October 21, 2019, Monday
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७०३४० / ४४७१८२८ / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np
तिहार

तिहार

हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यहि गोबरले लिपेको हरियो नेपथ्यको रगंको पूरापूरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटोले माटोकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरुले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारीएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेलरोटी, अर्सा अनि अर्नसाको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटका, झिरझिर गरिरहेको छुरछुरी (झिरझिरे), आकाश छुँला जस्तो गरि उज्यालोको फोहोरा छर्ने फूलझरी लगायतका रौनकहरु तिहारको दिन विशेषता हो । तिहारको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरु अर्थात थम्बाहरुलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्वपूर्णरुपमा लिइन्छ । विशेषगरि विवाह, व्रतवन्ध, पूराण या अन्य शुभकार्यमा अनिवार्यजसो केराका एकजोर खम्बाहरुलाई मुलद्वारमा राख्ने गरिन्छ ।