September 26, 2020, Saturday
  • देवपत्तन, काठमाडौं, नेपाल
  • +९७७-१-४४७१८२८ / ४४७०३४० / ४४६४६९८
  • +९७७-१-४४७२९६२
  • info@pashupati.org.np
बाला चतुर्दशी

बाला चतुर्दशी

मसिंर कृष्ण चर्तुदशीको दिन वाला चतुर्दशी हो । यो वर्षभरिमा मृत्युवरण गरेका पितृहरुको मोक्षका लागि महत्पूर्ण दिन मानिन्छ । नेपाल अनि भारतका विभिन्न महत्वपूर्ण शक्तिपीठ तथा त्रिवेणीधामहरुमा यस दिन सतवीज छर्ने तीर्थालुहरुको घुईँचो हुने गर्दछ । चर्चित धार्मिक वनहरु कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारका अन्नहरु सतवीज हुन । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधान्ययूक्त सतवीज र विभिन्न प्रकारका फूलहरु समेत रहनेगर्दछन् ।

सतवीज छर्ने चलन ठाँउ अनुसार फरक फरक रहेको पाईन्छ । उल्लेख गरिए बाहेकका अन्य अन्नहरू जस्तैः चना, तील, मकैहरुका साथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा, केरा जस्ता फलफुल र अन्नहरु पनि सतवीजमा राख्ने चलन रहेको छ । यसरी सतवीज छर्नका लागि बाला चर्तुदशीभन्दा एकदिन अगाडि त्रयोदशीकै दिन राती जाग्राम बसेर दीप प्रज्वलन गर्दै,  भजन कीर्तन गरेर आँखा झिमिक्क नपारी भोलिपल्ट विहानै स्नान गरेर चोखोनितो गरी सतवीज छर्ने गरिन्छ । यसरी पृथ्वीलोकमा छरिएको सतवीज पितृहरुको लोकमा गएर अङ्कुरण हुने र यिनै वीजहरूका कारणले पितृहरु कहिल्यै भोकै हुनु नपर्ने मान्यता रहेको छ ।

 

काठमाडौको पशुपतिनाथ आसपासका किँरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाट तट, श्लेषमान्तक वन क्षेत्र सत्वीज छर्ने मुख्य पवित्र क्षेत्र हुन् । यसै गरी पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर, दोलखाको चरणावती लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा यस दिन विशेष घूइँचोसहितको मेला लाग्ने गर्दछ । पितामाता या पितामह या मातामह लगायत सातपुस्ता भित्रका १३ दिने जो कोहीको पनि जुठो बार्ने या बरखी बार्ने क्रममा सम्पन्न गर्नुपर्ने नियम पुरा गर्न नसकेमा या कुनै त्रुटी भएमा मृतात्माको नाममा दीप प्रज्वलन गरी चोखो भई सत्वीज छर्नाले पितृ दोषबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ ।

यस चाडको सबैभन्दा रोचक प्रसङ्ग पशुपतिनाथस्थित विश्वरुप मन्दिर छेउको गणेशको मूर्तिसँग सम्बन्धित छ । उक्त गणेशको मूर्तिलाई कान नसुन्ने भगवानका प्रतीककारूपमा लिईन्छ र भक्तालुहरुले जोड जोडले चिच्याएर, कराएर, हल्लाएर उक्त मूर्तिलाई कानमै आफ्ना कुरा सुनाउन खोज्ने अथक प्रयासहरु गर्दछन् ।

 

बाला चर्तुदशी मित्रताको प्रतीकसँग पनि सम्बन्धित छ । बाला नाम गरेको एकजना असुर थियो भने उसकै एउटा साथी व्रिसलाई त्यतिवेलाका राजाले बालालाई मार्नका लागि पठाएका हुन्छन् । बालाले आर्यघाटमा मृतकका आफन्तलाई तर्साउने र शव खाइदिने गरेकाले जनताले धेरै दुःख पाएका थिए । मित्रताको न्यानो परिधीभित्र रहेको बालाले जस्तोसुकै आसुरी कार्य गरेको भएपनि उसको हत्या गर्न मनले नमानेकोले श्लेषमान्तक वनमा गएर साथी व्रिस आदिदेव शिवजीको तपस्या गर्दछ । भगवान् शिव व्रिसको तपस्याबाट प्रसन्न भएर वालालाई असुरजुनीबाट मुक्त गरिदिन्छन् र व्रिसलाई सतवीज छरेर आफ्नो साथी वालालाई पापबाट मुक्त गराउन आज्ञा दिन्छन् । यसरी सतवीज छर्ने चलन सुरुभएको हो । यो मित्रताको पर्व पनि भएकाले उत्तिकै महत्वपूर्ण रहेको कुरा बाला र व्रिसको कथाले प्रष्ट पार्दछ ।